काठमाडौंः राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १९ जना सांसदहरु आजबाट बिदा हुँदैछन् ।

बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् ।

दुईवर्षे कार्यकाल सकिने नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् ।

कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ । दुईवर्षे कार्यकाल भएका कांग्रेसका अर्का सांसद दुर्गाप्रसाद उपाध्यायको भने निधन भइसकेको छ ।


यसैगरी राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवान रहेका छन् । यसैगरी, सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडाको कार्यकाल पनि आज सकिँदैछ ।

राष्ट्रियसभा सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट निश्चित गरिएको थियो ।

१८ जना सांसदको दुई वर्षे कार्यकाल सकिएर राष्ट्रियसभा सदस्य पद रिक्त हुनुअघि नै गत माघ ९ गते सातवटै प्रदेशमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका छन् ।

गत माघ ९ गते भएको निर्वाचनबाट आएका १८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक जनाले भोलि बुधबार बिहान ११ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २०, १२:०४