काठमाडौंः प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी खाएर मनाइँदैछ ।

वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाउने गरिन्छ ।

शास्त्रीय विधान अनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने चलन छ ।


यस दिन गरेको स्नान, दान, ध्यान र जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौ को सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

पौराणीक रुपमा अत्यन्त सफल मानिएका केही क्रियाकलापहरु आजकै लगनमा भएका हुन् । जस्तै आजकै दिन देवादिदेव महादेव र हिमालय पूत्री पार्वतीबिच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको लगनदेखि वेदब्यासले लेख्न थालेको मान्यता छ । जे होस्, आजको दिन केही नयाँ र सकारात्मक आँटेको छ भने त्यो सफल हुने पौराणिक मान्यता छ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो । कोरोना भाइरस (कोभिड–१९) को बन्दाबन्दीमा अक्षय तृतीया पनि प्रभावित भएको छ ।


प्रकाशित मितिः आइतबार, वैशाख १४, १०:४९