काठमाडौंः आज बुधबार मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन विभिन्न जातजातिका पर्वहरु परेका छन् । आज सुदूरपूर्वका किरातदेखि कर्णाली प्रदेशको विकट क्षेत्रका बासिन्दाले समेत एकैदिन आ-आफ्ना पर्वहरु मनाउँदैछन् ।

सामान्यतया मंसिर वा पुसको पहिलो सातामा पर्ने धान्य पूर्णिमा यो वर्ष अधिकमासका कारण पुस १५ मा परेको हो ।

आजकै दिन नेवार समुदायले धान्य लक्ष्मीको प्रतिमा स्वरूप योमरीको पूजा गर्ने गर्छन् । प्रकृतिपूजक किरातहरूले यही दिनलाई उधौली पर्वका रुपमा मान्ने गर्छन् भने पहाडी भेगका ब्राहृमण क्षेत्रीयहरूले धान्य पूर्णिमाका रूपमा कुल पूजा गर्छन् ।


त्यसैगरी तिथिको साटो गते अनुसार हरेक वर्ष पुस १५ मा पर्ने गुरुङ जातिको ल्होछार पर्व आजकै दिन परेको छ ।

समग्रमा भन्दा यो वर्षको पुस १५ विविध सांस्कृतिक पर्वहरूको संगम बनेको छ ।

कृषिप्रधान मुलुकमा धान भित्र्याइसकेपछि फुर्सदिलो बनेका किसानहरुले पूर्णिमाको पवित्र दिन या रातमा विभिन्न नाच एवं पर्व मनाउन थालेका हुन् ।

किरातको उधौली

मंसिर पूर्णिमा अर्थात् बुधबार पूर्वका किरातहरुले उधौली पर्व मनाउने गर्छन् । किरात संस्कृतिका अध्येता भोगिराज चाम्लिङका अनुसार किरात राईहरुले मंसिर पूर्णिमाको दिनदेखि पृथ्वी सुत्छिन् भन्ने मान्यता राख्छन् । त्यसकारण यो पर्वमा कुनै धुमधाम हुँदैन । प्रकृति पूजा गरिन्छ र आफ्ना नियमित कर्महरु सम्पन्न गरेर उधौली पर्व मनाइन्छ ।

उभौली पर्वमा चाहिँ धुमधामका साथ साकेला नाच नाचेर पृथ्वीलाई उठाइन्छ भन्ने मान्यता छ । विशेष गरेर उच्च पहाडी वा हिमाली भेगबाट आफू सबै वस्तुभाउसँगै बेंसी र्झने समय पनि उधौलीसँगै सुरु हुन्छ ।

किरातहरूले सुम्निमा र पारुहाङलाई आफ्ना आराध्य आदिपूर्खाका रूपमा मानिल्याए तापनि उनीहरुलाई धरती र आकाशको प्रतीकका रुपमा मान्ने गरेको चाम्लिङ बताउँछन् ।

गुरुङको नयाँ वर्ष

पुस १५ अर्थात् बुधबार गुरुङहरूले ल्होछार अर्थात् नयाँ वर्ष पनि मनाउँदैछन् । तिब्बती भाषामा सार भनेको नयाँ र लो भनेको वर्ष भन्ने हुन्छ । तिब्बतमा नामलाई पहिले र विशेषणलाई पछि लेख्ने चलन रहेकोले यो पर्वलाई लोसार भन्ने गरिन्छ । पछि यसलाई तद्भव बनाएर नेपालमा ल्होछार नाम राख्न थालियो ।

नेपालमा ल्होछार मनाउने थकाली, गुरुङ र तामाङहरूले तिब्बती लोसारमा केही परिमार्जन गरेका छन् । डा। गुरुङका अनुसार नेपाली मंगोल समुदायले मनाउने लोसारको गाई वर्गलाई तिब्बतमा गोरु वर्गको नामले चिनिन्छ ।

चीनमा सुँगुर वर्ग भनेर चिनिने महिनालाई नेपालमा मृग महिनाको रुपमा चिनिन्छ, तिब्बतमा खरायो महिनालाई नेपालमा बिरालो महिना मानिन्छ यसरी महिनामा पनि नेपाली मौलिक नामाकरण गरिएको गुरुङ बताउँछन् ।

मगरहरुको जीवनसाथी रोज्ने दिन

धान्य पूर्णिमालाई गण्डकी प्रदेशमा समेत विभिन्न जातिहरुको साझा पर्वको रुपमा मान्ने गरिन्छ । त्यसमध्ये पनि त्यहाँका मगर समुदायले भने जीवनसाथी रोज्ने पर्वको रूपमा यसलाई मनाउने गरेको डा। गुरुङ बताउँछन् ।

‘अहिले भ्यालेन्टाइन डे मनाउँछन्, त्यस्तै दिन हो धान्य पूर्णिमा पनि । तर यो पर्वमा त्यहाँका युवायुवतीहरुले आफ्नो जीवनसाथी रोज्ने गर्छन्’ गुरुङ भन्छन् ।

उनका अनुसार तिहारमा देउसी खेलेर जम्मा भएको पैसामा अपुग भए अलिअलि थपथाप गरेर मगर युवायुवतीहरुले खुवा वा खोइ खाने चलन छ । यही दिनदेखि दिन घमाइलो र रमाइलो हुन्छ भन्ने मान्यता छ । दिन लामो हुन थालेसँगै मान्छेको शरीरका अंगहरु स्फूरित हुन थाल्छन्, जसका कारणले विपरीत लिंगीप्रतिको आकर्षण बढी हुन्छ ।

अतः यही समयमा खुवा खाएपछि आफ्नो जीवनसाथी रोज्ने र गार्हस्थ जीवनको सुरुवात गर्ने परम्परा रहेको संस्कृतिविद् गुरुङ बताउँछन् ।

राकम कर्णालीको धान नाच

धान नाच पनि धान्य पूर्णिमाको दिन नै मनाइने विशिष्ट किसिमको पर्व हो । धान नाच लिम्बु जातिको विशिष्ट पर्व हो । तर धान्य पूर्णिमाको जुनेली रातमा मनाइने धान नाच भने कर्णालीको एउटा विशेष क्षेत्रमा मनाइने संस्कृति हो ।

यसमा हात, खुट्टा र मुखको चाललाई बढी महत्व दिइन्छ । यसबाहेक राकम कर्णाली दैलेखको दुल्लुस्थित कर्णाली नदीको फाँटमा पनि यही दिन धान नाच नाच्ने गरिएको डा। गुरुङ बताउँछन् ।

उनीहरु खुट्टाले धान माड्छन्, हातले पराल खेलाउँछन् र मुखले गीत गाएर कामसँगै मनोरञ्जन लिने गर्छन् । त्यसैले धान्य पूर्णिमा परेको पौष १५ धान नाचको हिसाबले पनि महत्वपूर्ण रहेको छ ।

सिमेभूमे पूजादेखि देवालीसम्म

कतिपय ब्राहृमण एवं क्षेत्रीहरुले धान्य पूर्णिमाकै दिन देवाली पूजा गर्ने गर्छन् । गण्डकी प्रदेशका लामिछानेहरुको कुल पूजा वा देवाली यही धान्य पूर्णिमाको दिन हुन्छ । सिमेभूमे पूजा यही दिन गरिन्छ भने धान्य पूर्णिमाकै दिन गैडु पूजा समेत गर्ने चलन छ । गैडु पूजा गोठमा पशुधन वृद्धिको लागि गरिने पूजा हो । यस दिन गाउँबाट पशुहरुको लस्कर बेसीसम्म र बेसीबाट लस्कर गाउँसम्म पुगोस् भनेर पूजा गर्ने चलन छ ।

नेवारको योमरी पुन्ही

काठमाडौंका नेवारी समुदायको योमरीमा किन चुच्चो राखिन्छ रु यसको कारण धेरै योमरी बनाउनेहरूलाई पनि थाहा नहुन सक्छ । नेवारी संस्कृतिका जानकार एवं विनोदराज शर्मा यसले योमरी पुन्हीको दिनदेखि दिन लामो र रात छोटो हुन सुरु हुन्छ भन्ने संकेतका लागि चुच्चो बनाउने गरेको बताउँछन् ।


प्रकाशित मितिः १५ पुस २०७७, बुधबार, ०७:४३