काठमाडौंःचीन भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्नु हुने छ ।


। चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

त्यसअघि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्नु हुने छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सीले अघि सारेरको ‘एक क्षेत्र एक मार्ग (बीआरआ)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिए ।

प्रधानमन्त्री ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुग्नुभएको हो ।

बेइजिङस्थित नेपाली दूतावासले मंगलबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनसँग विगतमा भएको व्यापार तथा पारवहन सम्झौता अघि बढाउन नेपालले थप पहल गरेको बताए ।

नेपाल र चीनबीच रेलमार्गका साथै सडकमार्ग, हवाई मार्ग, सञ्चार र ऊर्जाका क्षेत्रमा भएका समझदारी अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।