काठमाडौंः आज आषाढ कृष्ण औंसीका दिन अर्थात् असार ७ गते आइतबार खण्डग्रास सूर्यग्रहण लाग्दैछ ।

यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, चीन, थाईल्याण्ड लगायत एशियाका सबै देश, दक्षिण/पूर्वी युरोप, कांगो, इथियोपिया, अफ्रिकाको केही स्थानबाट देख्न सकिनेछ ।

नेपाली समय अनुसार बिहानको १० बजेर ५० मिनेटमा स्पर्श हुने र मध्यान्हको १२ बजेर ३८ मिनेटमा मध्य हुने र अपरान्ह २ बजेर २३ मा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३३ मिनेटको रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ ।


। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।


प्रकाशित मितिः आइतबार, असार ७, २०७७, ०६:४८