काठमाडौंः आज गाई, गोरु र गोबर्द्धन पूजा गरिँदैछ ।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको बताइन्छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ ।


। त्यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ । आजै गोवर्द्धन पूजा पनि गरिँदैछ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाईगोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।

आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ ।

म्ह पूजा (आत्म पूजा) भने कात्तिक ३० गते गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिको मत छ । आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

तिहारको मुख्य दिन सोमबार भाइटीका मनाइँदै छ । भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ३० आइतबार, ११:००