काठमाडौंः आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ।

घटस्थापनादेखि दशैं सुरु भएको मानिने भए पनि चहलपहल र रौनक भने आजैका दिनदेखि सुरु हुने गर्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैं घर अथवा पूजाकोठामा फूलपाती स्वरुप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नामका नवपत्रलाई भित्र्याउँने प्रचलन छ ।

यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराउने र प्रत्येक पत्रहरूमा विभिन्न देवीहरुको पूजा गरिन्छ ।

यसैगरी आजै हनुमानढोका दरबारको दशैं घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।


गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैं घरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती ल्याउने गरिन्छ ।

यस वर्षको फूलपाती शनिबार दिउँसो ३ बजे भित्र्याइने कार्यक्रम छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर भवानीको प्रसादका रुपमा टीका थाप्न आ-आफ्नो घर फर्कने क्रम अझ तीव्र हुन्छ ।

 


प्रकाशित मितिः शनिबार, असोज १८, ०८:४७