काठमाडौंः प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

वर्षमा चैत र असोजमा गरी दुई पटक दशैं मनाउने गरिएको छ । पहिला पहिला चैतमा बडादशैं बनाउने गरिएको भए पनि खानपिनका कारण मानिसहरु बिरामी पर्न थालेपछि असोजमा दसैं मनाउन थालिएको हो ।
चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैंलाई बडादशैं भनिन्छ ।


। बडादशैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।

चैते दशैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन् । हनुमानढोका दशैंघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैतेदशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

विगत वर्षमा चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ । विगत वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले पाँच जनाभन्दा बढी उपस्थित नहुन आदेश जारी गरेकाले दूरी कायम गरेर दर्शनको व्यवस्था गरिने जनाइएको छ ।

हनुमानढोकामा बलिसहित पूजा प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैं घरमा चैते दशैंका दिन पनि बलिसहित पूजा गरिन्छ । गत वर्ष चैते दशैंमा भने कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएका कारण बलि नदिई पूजा मात्र गरिएको थियो ।

यस वर्ष पनि आज बिहान पूजा आराधना गरी ५४ बोका र ५४ राँगाको बलि दिने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । बडा दशैंमा भने १०८ बोका र १०८ राँगाको बलि दिई पूजा हुन्छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ७ गते मंगलबार, ०७:५२