काठमाडौंः छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।

षष्ठीका दिन कठोर निराहार व्रत गरी साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधिविधान छ ।

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ ।

कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।


। यस वर्षको छठ पर्व बुधबारदेखि सुरु भएको हो ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण अघिल्ला वर्षहरुमा जस्तो उल्लास छैन ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण सुनसान प्रायः छ ।

यस वर्ष कोरोना महामारीबाट बच्न स्थानीय प्रशासनले भीडभाड नगरी सकेसम्म घरमै बसेर छठ पर्व मनाउन आह्वान गरेको छ ।

कात्तिक शुक्ल षष्ठीको बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपतिले समेत छठ पूजा गर्ने कार्यक्रम यस वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, ११:४८