भक्तपुरः वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज महाशिवरात्रीका दिन खुल्ला गरिएको छ ।

आज महाशिवरात्रीका दिन बिहानैदेखि भक्तजनहरुको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा बिकास समितिले जनाएको छ ।

मन्दिर वर्षको तीन दिन मात्र सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका खुल्ला हुने र बाँकी दिनमा पुजारीहरुको लागि मात्र मन्दिरको ढोका खुल्ला रहने समितिले जनाएको छ । समितिका अनुसार सो मन्दिर भक्तजनहरुका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिन मात्र भक्तजनहरुको लागि मन्दिर खुल्ला गरिन्छ ।


हजारौंको संख्यामा मन्दिरमा आउने भक्तजनको संख्यालाई ध्यानमा राखेर सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

मन्दिरमा दर्शन गर्न भक्तजनले मास्क अनिवार्य रुपमा लगाएर आउनुपर्ने तथा सेनिटाइजर लगाउने र भौतिक दूरी कायम राख्नुपर्ने गरी लाइनको व्यवस्था गरिएको महाशिवरात्री पर्व मूलसमितिका संयोजक तथा समितिका बरिष्ठ उपाध्यक्ष सुर्यबहादुर खाइतुले जानकारी दिए ।

महाशिवरात्रि दर्शनका लागि भारत तथा नेपालका विभिन्न स्थानबाट साधुसन्त आएका छन् । नागा बाबा, भंगी, जोगी र अघोरी बाबा लगायतका साधुसन्तले मन्दिरको क्षेत्र रोमाञ्चित बनेको छ । परम्पराअनुसार जोगी, सन्त, महन्थलाई भोलि बिदाइ गरिने समितिले जनाएको छ ।

आज केदारनाथको शिर डोलेश्वर महादेवमा रातको चार प्रहरमा चार प्रकारका पूजा पनि गरिन्छ ।

पछिल्लो समयमा धार्मिक क्षेत्रका रुपमा परिचित डोलेश्वर मन्दिरमा पूजा आजा गर्न उपत्यकालगायत देश विदेशबाट समेत भक्तजनहरु मन्दिरमा आउने गरेका छन् ।

फाइल तस्विर


प्रकाशित मितिः २०७७ साल फागुन २७ गते बिहीबार, ०६:३५