काठमाडौंः आज बुधबार प्रधान न्यायालय ऐन २००८ जारी भएको दिनको सम्झनामा नेपालमा कानुन दिवस मनाइँदै छ ।

नेपालमा सर्वप्रथम २००९ सालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन कानुन दिवस मनाउने गरिएको छ ।

यो ऐनले प्रधान न्यायालयबाट भएका आदेश तथा फैसला अकाट्य तथा अन्तिम हुने कानुनी ब्यवस्था गरेको थियो । आजको दिनलाई नेपालको न्यायिक इतिहासमा प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको प्रस्थानविन्दुको रुपमा लिइएको पाइन्छ ।

कानुनसँग सम्बन्धित संघसंस्थाले २०३१ सालदेखि हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाउँदै आएका छन् ।


यसैबिच कानुन दिवसको अवसरमा शुभकामना दिँदै प्रधानन्याधीश दामोदरप्रसाद शर्माले संविधानले दिएको दायित्व पूरा गर्न न्यायालय सदैव सजग र सचेत रहेको बताएका छन् ।

शुभकामना सन्देशमा उनले न्याय सेवामा गुणस्तरीयता बढाउने काममा न्यायपालिका सदैव उच्च समर्पणका साथ लाग्ने प्रतिवद्धता समेत जनाएका छन् ।

साथै, कानुन दिवसको अवसरमा आज जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा विदा दिइएको छ । कानुन दिवसको अवसरमा सर्बोच्च अदालतमा दिउँसो ४ वजे विशेष कार्यक्रमको आयोजना गरिएको छ ।