भक्तपुरः देशभरका नेवार समुदाय आज घरघरमा उसिनेको पिडालु र सख्खर खण्ड खाएर सकिमना पुन्ही (पिडालु उसिनेर खाने पर्व) मनाउँदै छन् ।

नेपाल भाषामा सकीमनाको अर्थ पिडालु उसिन्ने र पुन्हीको अर्थ पर्व हो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन घरघरमा पिडालु उसिनेर खाँदै पर्व मनाइन्छ ।

पर्वको क्रममा घरघरमा पिडालु उसिनेर खाने चलन छ । यो क्रममा उनीहरु मकै, भटमास, बदामलगायतका गेडागुडी पनि भुटेर पनि खाने गर्छन् । साथै सखरखण्ड, तरुल पनि पकाएर खाने गर्दछन् ।

पर्वका लागि पसलबाट पिडालु खरिद गर्नेको विशेष भीड यहाँंका बजारमा लागेको थियो । माग अत्याधिक रहेको भन्दै पसलमा पिडालको मूल्य अनियन्त्रित भए पनि खरिद गर्नेेको संख्या उतिकै देखिएको थियो ।


स्थानीय सुन्दर श्रेष्ठका अनुसार बजारमा पिडालु, सखरखण्ड, तरुल खरिद गर्नेको विशेष भीड जताततै देखिएको थियो । एक पटक मात्रै खरिद गर्नुपर्ने भएकाले जति मूल्यमा पनि पिडालु खरिद गर्न खोजिरहेको उनले सुनाए । अरु सामान्य दिनमा खासै पिडालु खाने नगरिए पनि यो पर्वमा घरघरमा पिडाल खाने चलन छ । पहिलापहिला धेरै किसानको घरमा पिडालु हुने भए पनि आजभोलि भने पिडालु सवैले खरिद गर्नुपर्ने भएको छ ।

यो दिन प्रत्येक घरमा एक एक जना व्रत बसी विभिन्न ठाउँका नारायण र महादेव मन्दिरमा गएर पूजा गर्छन् । पूजामा मालपुवा, पुरी, नसा, गाईको दूधले बनेको खिर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खर खण्ड आफ्ना टोलमा भएका देवीदेवता, महादेव र नारायणलाई चढाइन्छ । यसरी पूजा गर्दा प्रसादका रूपमा मन्दिरबाट नसाः लिएर आउने चलन छ । साँझ चन्द्रमा उदायपछि चन्द्रमा र तुलसीलाई गाईको दूध अर्घ्य दिई प्रसाद चढाएर पूजा सम्पन्न गरिन्छ । मन्दिरबाट ल्याएको प्रसाद स्वरुप नसा राखेर घरका सबै सदस्यलाई पिँडालु, सखरखण्ड, मालपुवा र पुरी प्रसाद दिई आषिश लिएर भोजन गर्ने परम्परा छ ।

पर्वको क्रममा विहानदेखि ठाउठाउका महादेव, नारायण मन्दिरहरुमा विशेष मेला पनि लागेको छ । यस क्रममा दिनभर जिल्लाको चाँगुनारायण मन्दिर, सिपाडोलको डोलेश्वर, आशापुरी महादेव, कमलविनायकस्थित यातु गणेश, गुण्डुको अनन्तलिंगेश्वरलगायतका मन्दिरमा विशेष मेला लागेको छ ।

साथै साँझ भक्तपुर नगरको पाँचतल्ले मन्दिरमा विशेष महोत्वस जस्तै हुनेछ । त्यहाँ भुटेको मकै, भटमास, बदामलगायतका खाद्यान्नबाट भुइमा विशेष प्रकारको पाँचतल्ले मन्दिर आकारका चित्र बनाइने चलन छ । साथै यातु गणेशमा पनि यसैगरी भुटेको मकै, भटमासबाट भुइमा यातु महोदेव बनाइने चलन छ । यसरी नै ठाउँठाउँमा ठाउँठाउँका मन्दिर अगाडि यस्तै बनाइने प्रचलनमा छ ।

पर्वको अर्काे विषेश आकर्षण भजन गाउनु हो । कोजाग्रत पूर्णिमाको दिन सुरु गरेको एकमहिने रात्रिकालीन भजनकीर्तन समापन गर्ने दिनको रूपमा यो दिनको महत्त्व छ । यस क्रममा ठाउँठाउँका पाटीमा समूह समुह मिलेर विभिन्न बाद्यबादनका साथ बाजागाजासहित भजन गाइने चलन अझै जस्ताका तस्तै बाँंकी छ । विशेष गरी बुढापाकाहरु ठाउँठाउँका पाटीमा बसेर भजनमा रमाउने गर्दछन् । पर्वका क्रममा महिलाहरु ब्रत पनि बस्ने चलन छ ।

ऋतुअनुसारको भोजन भगवानलाई प्रसादको रूपमा चढाएर मात्र खाने पर्वको रूपमा सकिमना पुन्हीलाई लिने गरिन्छ। पुन्हीको दिन विषेशगरी नारायणको पूजाआराधना गरिने हुनाले नेपाल संवतको बाह्र महिनाको पहिलो पुन्हीमा भगवान् नारायण, लगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तिका साथै शारीरिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ। वर्षभरका बाह्र महिनाको प्रत्येक पुन्हीमा भगवानलाई फरक फरक भोजन प्रसादको रूपमा चढाइने नेवार समुदायको संस्कार र संस्कृति अनुसार कार्तिक शुक्ल पुन्हीको दिन कण्डमुल, खीर र नसाःलाई प्रसादको रुपमा भगवानलाई चढाउने संस्कृतिकर्मी बताउँछन्।


प्रकाशित मितिः मंगलबार, कार्तिक २६, ०९:२३