काठमाडौंः भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपालको दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको औपचारिक निमन्त्रणामा श्रृंगला बिहान १० बजे विशेष विमानमार्फत नेपाल आउन लागेका हुन् । नेपाल आएलगत्तै श्रृंगला उच्चस्तरीय भेटवार्तामा ब्यस्त रहने छन् ।

नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादकाबीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न भारतीय विदेश सचिव शृंगला काठमाडौं आउन लागेका हुन् ।

यो एउटा सामान्य कूटनीतिक भ्रमण भए पनि एक वर्षदेखि सीमा विवादका कारण सम्बन्ध चिसिएको पृष्ठभूमिमा यसलाई महत्वका साथ हेरिएको छ ।


। नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि वार्ता हुन लागेको हो ।

शृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यस्तै, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेतासँग पनि शृंगलालको शिष्टाचार भेट हुनेछ । भोलि नेपाली थिंकट्यांक आइडिएसएद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर भारतीय टोली दिल्ली फर्किनेछ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ११ बिहीबार, ०९:५६