काठमाडौंः बडादशैंको आठौं दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ ।

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादशैंका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् । आजको दिन दशैं घर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।

आज दशैं घर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रुपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।


। पशुबली नचढाउनेहरु आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।

हनुमानढोकाको दशैं घरमा आज मध्यरातमा शक्तिरुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन भएता पनि यस वर्ष कोरोनाका कारण स्थगन गरिएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

घटस्थापनादेखि विजयादशमीको दिनसम्म दिइने बलि भने निरन्तर जारी रहेको उनले बताए । फूलपाती भित्र्याउँदा पनि बलिसहित पूजाराधना गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ८ शनिबार, ०६:४२