काठमाडौंः चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।

त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा विष्णुको सातौं अवतार मानिने श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको बिस्वास गरिँदै आएको छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने धार्मिक विश्वास छ ।


यस वर्ष पनि कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन् ।

यसैबीच चितवनको माडीस्थित अयोध्यापुरीमा राम-सीताको मूर्ति आज प्रतिस्थापन गरिँदै छ । प्रतिस्थापन गर्ने मूर्तिहरु मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारबाट रथयात्रासहित चितवन लगिएको छ ।

राम-सीताका मूर्ति बुधबार मध्याहृन १२ः३० बजेको साइतमा प्रतिस्थापन गर्ने तयारी छ । मूर्ति प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ८ गते बुधबार, ०८:१३