काठमाडौंः आज १४ औ‌ं लोकतन्त्र दिवस । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दी (लकडाउन) का कारण औपचारिक कार्यक्रम नगरी दिवसको स्मरण गरिदैछ ।

२०६३ वैशाख ११ गते आजैका दिन १९ दिने जनआन्दोलनको बलमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता जनतालाई सुम्पिएका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सडकमा ओर्लेका सात राजनीतिक दल र जनयुद्धमा रहेको माओवादीबीचको सहकार्यले जनआन्दोलन सफल भएको थियो ।

जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनःस्थापना गरी आफूले लिएको कार्यकारी अधिकार फिर्ता गरेको दिन वैशाख ११ को ऐतिहासिक महत्व छ ।


विक्रम संवत् २०६२र६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए ।

लकडाउन नै नहुँदा पनि विगतका वर्षहरुमा सरकारी तवरबाट औपचारिक कार्यक्रम नभए पनि लोकतन्त्र दिवसको स्मरणमा सामाजिक संघसस्था र कतिपय राजनीतिक दलहरुले औपचारिक कार्यक्रम गर्दै आएका थिए । वैशाख ११ गतेपछि नै यो राजनीतिक विकास भएकाले प्रत्येक वर्ष यस दिन लोकतन्त्र दिवसका रुपमा स्मरण गरिन्छ ।


प्रकाशित मितिः बिहीबार, वैशाख ११, १०:३७