काठमाडौंः आज असोज संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाउँदैछन् ।

यस दिन वास्तुदेव तथा उनकी पत्नी अंगिरसीबाट विश्वकर्माको जन्म भएको र उनी पनि बाबुजस्तै वास्तुशिल्पी भएकाले सो दिवस मनाउन थालिएको हो ।

वैदिक सभ्यताको विकाससँगै यस्ता चाडपर्व चान्द्रमास र सौर्यमासका आधारमा मनाइन्छन् । तीमध्ये सौर्यमासका आधारमा सूर्य हरेक वर्ष कन्या राशिमा गएको पहिलो दिन वा असोज १ मा विश्वकर्मा पूजा मनाउने गरिएको छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।


प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।

यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् ।

यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् ।

यस वर्ष कोरोना भाइरसको संक्रमण देशभर बढ्दै गएकाले सुरक्षित भएर दिवस मनाउनुपर्ने अवस्था छ । गत चैत ११ गतेदेखि नै धेरै कलकारखाना बन्द छन् । खुला भएकामा पनि थोरै जनशक्तिले मात्र भौतिक दूरी कायम गरी काम गरिरहेका छन् ।

यसै दिन नेपालमा अमृत क्याम्पस (अस्कल) का संस्थापक अमृतप्रसाद प्रधानको सम्झनामा विज्ञान प्रविधि दिवस मनाइने गरेको छ ।


प्रकाशित मितिः बिहीबार, असोज १, २०७७, ११:०४