काठमाडौंः आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ ।

सन् १९९३ को संयुक्त राष्ट्रसंघीय महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

यस वर्ष ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नारासहित यो दिवस मनाइँदैछ ।

यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । नेपाल पत्रकार महासंघले युनेस्कोसँगको सहकार्यमा आज भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कोरोना संक्रमणका कारण सामूहिक रूपमा भौतिक सहभागिता जनाएर कार्यक्रम गर्न सम्भव नदेखिएकोले कार्यक्रमको स्वरूप परिवर्तन गरेर भर्चुअल रूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको महासं‌घले जनाएको छ ।


प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरुलाई सम्मान गर्दै यो दिवस विश्वभरि मनाइन्छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै महासं‌घका अध्यक्ष विपुल पोख्रेलले कोरोनाको संक्रमणका बीचमा पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने अवस्था एकातिर छ भने यही कोरोनालाई कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा पनि रहेको उल्लेख गरे ।

महासंघको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू यस वर्ष ४५ छन् । ती घटनाबाट जम्मा ५८४ पत्रकार र तीन सञ्चारसंस्था पीडित बनेका छन् ।


प्रकाशित मितिः २०७८ साल वैशाख २० गते सोमबार, ११:१३