काठमाडौंः आज मे १ अर्थात १३२ औं अन्तर्राष्ट्रिय मजदुर दिवस हो ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ।

सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा मजदुर दिवस मनाउने गरिन्छ ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाइन्छ ।

नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विगतमा हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरे पनि यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण ठूला कार्यक्रम आयोजना गरिएको छैन ।


नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण यो दिवस पनि प्रभावित भएको छ । कोरोनाको संक्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौं उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष मजदुर दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् ।

औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफलको आयोजना गरेका छन् ।


प्रकाशित मितिः २०७८ साल वैशाख १८ गते शनिबार, १२:२८