काठमाडौंः १९९० माघ २ गतेको महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै आज २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ ।

‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले २०५५ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोहले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर बोडेमा आयोजना गरिएको छ ।

आज बोडेमा हुने यस वर्षको मूल समारोहमा गृहमन्त्री रामबहादुर थापा (बादल) प्रमुख आतिथिको रुपमा सहभागी हुने पूर्व निर्धारित कार्यक्रम रहेको छ ।


कोरोना भाइरसका कारण अनलाइन प्रविधिमार्फत् र स्वास्थ्य मापदण्ड पूरा गरी देशका संघ, प्रदेश तथा स्थानीय तहहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु हुनेछन् ।

१९९० सालमा नेपाल, भारत र तिब्बतलाई असर पार्ने गरी गएको आठ रेक्टर स्केलको भूकम्पमा नेपालमा मात्रै आठ हजारको ज्यान गएको थियो । त्यसपछि पनि २०२२, २०३६ र २०४५ मा करिब छ रेक्टर स्केलका भूकम्प गएको थियो। २०६७ असोजमा सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले नेपालको पूर्वी भागमा केही क्षति गर्‍यो ।

पछिल्लोपटक वि.सं. २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।


प्रकाशित मितिः २०७७ साल माघ २ गते शुक्रबार, १२:३७