काठमाडौंः मंसिर २७ गते हुने निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आज निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

जसअनुसार कात्तिक २५ गतेदेखि निर्वाचन कार्यक्रम नसकिँदासम्म कर्मचारीको सरुवा वा काज सरूवा गर्न पाइने छैन ।

निर्वाचन आचारसंहिता लागू गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयदेखि सबै मन्त्रालयलाई कार्यालयले आग्रह गरेको हो ।

‘निर्वाचन सम्पन्न नभएसम्म निजामती सेवा ऐन २०४९ को दफा ५३ (२) (क) र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी विनियमावली २०६९ को विनियम १ (९१) बमोजिम मतदाता हुने कर्मचारीको कात्तिक २५ देखि सरुवारकाज सरुवालगायत कार्य नगर्न नगराउन र सरुवा भइसकेको भए रमाना नगर्न नगराउन अनुरोध गरिन्छ,’ कार्यालयले सूचना निकालेर मन्त्रालयहरुलाई आग्रह गरेको छ ।


प्रमुख निर्वाचन अधिकृत कलानिधि पौड्यालले मंसिर २७ गते शनिबार हुने निर्वाचनका लागि मंसिर १० मा मतदाता नामावली प्रकाशनको काम हुनेछ ।

मंसिर १४ गते उम्मेदवारी दर्ता, मंसिर १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मंसिर २७ गते शनिबार बिहान ९ देखि ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १८ मंगलबार, १८:०९