काठमाडौंः सिन्डिकेटबिरुद्ध सरकारले चालेको कदमको विरोध गर्दै आएका यातायात व्यवसायीहरुसँग सरकारले आज ५ बुँदे सहमति गरेको छ ।

सरकार र व्यवसायीबीच सहमति भएसँगै यातायात क्षेत्रमा लामो समयदेखि रहँदै आएको सिन्डिकेट विधिवत् रुपमा अन्त्य भएको छ । आइतबार बेलुका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायीबीच भएको छलफलपछि सहमति जुटेको हो ।

विज्ञप्तीमा सार्वजनीक यातायात क्षेत्रमा विगत समयदेखि रहेका समस्या, अस्पष्टता, अब्यवस्था र सिण्डिकेटको अन्त्य गरी यस क्षेत्रलाई सक्षम, सुदृढ, प्रभावकारी एवं मर्यादित बनाउँदै देशमा दिगो यातायात मैत्री वातावरण सृजना गर्न ५ बुँदे सहमति गरेको उल्लेख छ ।


मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा यातायात मन्त्री रघुवीर महासेठले व्यवसायीसँग सहमति भैसकेकोले अब यातायात सिन्डिकेट नरहेको बताए । पत्रकार सम्मेलनमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौलालगायत पदाधिकारी पनि उपस्थित थिए ।

छलफल तथा सहमतिको प्रक्रियामा व्यवसायीलाई सहभागी नगराइएकोमा भने उनीहरुले असन्तुष्टि व्यक्त गरेका थिए । सरोकारवालाको ठाउँमा यातायात व्यवसायी भन्ने शब्द राख्नुपर्ने उनीहरुको माग छ ।