काठमाडौंः प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वकै पार्टी सक्कली नेकपा भएको बताएका छन् ।

आज नारायणहिटी दरबार अगाडि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वकै पार्टी सक्कली नेकपा भएको बताउँदै नेकपाको कुन पक्ष सक्कली र कुन नक्कली भन्ने विवाद सकिएको ठोकुवा गरे ।

उनले अबदेखि नेकपाको कुन पक्ष सक्कली र नक्कली भन्ने विवाद टुंगिएको बताए ।

नेपालमा आजको जस्तो ठूलो सभा इतिहासमा कहिल्यै नभएको भन्दै यो सभाबाट कुन पार्टी मूल पार्टी हो भन्ने टुंगो लागेको उनको दावी छ । सभामा मानिसहरु धेरै हुँदा ठाउँ नपुगेको उनको भनाइ छ ।


सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्षले मांशाहारी आन्दोलनका नाममा नरभक्षी आन्दोलन गर्न खोजेको आरोप लगाएका छन्।

केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले सरकारविरुद्ध मांसाहारी आन्दोलन गर्नुपर्ने बताएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् । आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने उनले बताए ।

उनले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए ।

प्रधानमन्त्री ओलीले लुम्बिनी र प्रदेश नम्बर १ मा पनि सभा गर्ने बताएका छन्।

फागुन १ गते बुटवल र ८ गते विराटनगरमा सभा हुने उनले बताए ।


प्रकाशित मितिः २०७७ साल माघ २३ गते शुक्रबार, १६:११