तनहुँ: पृथ्वी राजमार्ग सडकखन्डको आबुखैरेनी–१, बरादीमा मंगलबार तीनओटा सवारी–साधन ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अरु ६ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

आबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग१ख ३०७३ नम्बरको यात्रुबहाक बस, विपरीत दिशाबाट आएको बा१७च १८१४ नम्बरको भ्यान र मुग्लिनबाट डुम्रेतर्फ जाँदै गरेको ग५प १९४४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका आबुखैरेनी–४, का २६ वर्षीय दिलबहादुर मगरको दमौली अस्पतलामा उपचारका क्रममा  मृत्यु भएको हो ।

घाइतेहरुको पोखरास्थित गन्डकी र मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।