काठमाडौं, २४ जेठ: नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले आज पदबाट राजीनामा दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर खड्काले राजीनामाको घोषणा गरेका हुन् ।

पटक पटक विवादमा परेका खड्का जग्गा खरिद भष्टाचार काण्डमा मुछिएपछि मन्त्रालयमा तानिएका थिए । खड्कालाई ९ महिनाअघि सरकारले बर्खास्त गरेको थियो । त्यसपछि अदालत पुगेका उनी त्यहीको आदेशबाट निगम फर्केका थिए ।

आपूर्ति मन्त्रालयले उनलाई मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीबिहीन गराएको थियो । कार्यकाल ६ महिना हुँदा राजीनामा दिएका खड्काले निगमलाई मार्गप्रशस्त गर्न यस्तो निर्णय गरेकाे बताएका छन् ।


उनले देशी–विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको आरोप समेत लगाएका छन् । ‘ममाथि देशी–विदेशी तत्वहरुले समेत षड्यन्त्र गरे’, खड्काले राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा भने । खड्काले अदालतले न्याय दिए पनि मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीविहीन बनाएको भन्दै आक्रोस पोखे ।

खड्काले आफूलाई गलत तत्वले मन्त्रालयमा ल्याएर थन्काएको आरोप लगाए । उनले आफू आएपछि निगमलाई ऋणमुक्त गराएको दावी गर्दै उनले आफूलाई ‘रत्नपार्कको ज्योतिष’ जस्तो बनाएको टिप्पणी गरे । नौ महिनासम्म मन्त्रालयमा सहेरै विना जिम्मेवारी बसेको तर, अब सहन नसकिने अवस्था आएपछि राजीनामा दिएको तर्क गरे ।