काठमाडौं: नेपाल आयल निगम र विधार्थी संगठन बीच भएको वार्तामा निगमले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि पुनरावलोकन गर्न सहमती जनाएको  छ। विभिन्न विद्यार्थी संगठन र निगमका पदाधिकारीबीच मंगलबार भएको वार्तामा मूल्य पुनरावलोकन गर्न निगम सहमत भएको हो ।

मूल्य पुनरावलोकनका सम्बन्धमा विभागीय मन्त्री र निगम सञ्चालक समितिबीच छलफल गरेर निर्णय गरिने निगमका कार्यकारी निर्देशक शुशिल भट्टराईले बताएका छन्  । ‘आवश्यक छलफल गरेर भोलिसम्ममा मूल्य पुनरावलोकनको बारेमा ठोस निर्णय गर्छु’, उहाँले भन्नुभयो, ‘म एक्लैले बढेको मूल्य फिर्ता लिइहाल्न सक्ने अवस्था छैन ।


।’ स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेकाले यसमा सबैको सहमति चाहिने उनले बताए । छलफलमा निगमका कार्यकारी निर्देशक भट्टराई, विद्यार्थी नेतृ एवं सांसद नविना लामा, रंजित तामाङ, ऐन महर, सुरेन्द्र बस्नेत, विवेक राई, विमल पोखरेललगायतको सहभागिता रहेको थियो ।

विद्यार्थी स‌ंगठनका पदाधिकारीले विद्यार्थी तथा विपन्न वर्गलाई सहुलियत रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने व्यवस्था तत्काल मिलाउन पनि अाग्रह गरेका छन् । विद्यार्थी संगठनसँग निगमले विगतमा गरेको सहमति छिटाे कार्यान्वयन गर्न पनि उनीहरुले माग गरेका छन् ।

पछिल्लो पटक जेठ १९ गते बृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य अनुसार पेट्रोलको ११३, डिजेल र मट्टितेलको समान ९५ रुपैयाँ पुगेको छ । अनावश्यक रुपमा मूल्यवृद्धि भएकाे भन्दै विद्यार्थी संगठनहरुले भने दवावमूलक कार्यक्रम गर्दै अाएका छन् ।