काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आर्थिक बर्ष २०७५/०७६ को बजेटलाई ‘स्वप्नदर्शी’ को संज्ञा दिएको छ ।

आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले चुनावी घोषणा–पत्र र नीति तथा कार्यक्रमभन्दा फरक शैलीको बजेट प्रस्तुत गरेर सरकारले जनमतको उपेक्षा गरेको टिप्पणी गरेको हो ।

नीतिगत सुधार र क्षमता अभिवृद्धि र प्रशासनिक सुधारमा बजेटले महत्व नदिएको, बजेट देशको आवश्यकताअनुसार नभएको, नीतिगत सुधार, क्षमता अभिवृद्धि र प्रशासनिक सुधारका कर्यक्रमहरूलाई बजेटमा समेटिएको कांग्रेसको धारणा छ ।

समृद्ध नेपाल र सुखी नेपालीको कल्पना पूरा गर्न लगानीलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने भएपनि यो सरकारले लगानी जुटाउने वातावरण बनाउने बिषय बजेटमा समेट्नि नसकेको उक्त बैठकको निष्कर्ष रहेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताएका छन्

साथै सरकारले सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्नुका साथै अदालतको मानमर्दन गर्ने व्यक्तिलाई उनमुक्ति दिएर सर्वोच्चको गरिमामा आँच पुर्याएको समेत कांग्रेस संसदीय दलको बैठकले निष्कर्ष निकालेको थियो ।


बजेटबारे पार्टीको आधिकारिक धारणा बनाउन बसेको नेपाली कांग्रेसको बैठकमा अर्थविद्हरूले बजेटबारे संसद्‍मा कसरी प्रस्तुत हुने भनेर सुझाब समेत दिएका छन्।

सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७५–०७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएको छ ।