काठमाडौंः सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा इंग्ल्याण्ड चेक रिपब्लिकसँग पराजित भएको छ ।

छनोट अन्तर्गत शुक्रबार राति भएको समूह चरणको पाँचौं खेलमा इंग्ल्याण्ड चेक रिपब्लिकसँग २–१ ले पराजित भएको हो ।

चेक रिपब्लिकका लागि जाकुब ब्राबेक र जेडेनेक ओन्ड्रासेकले एक एक गोल गरे । यस्तै इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा कप्तान केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । नवौं मिनेटमा चेक रिपब्लिकका ब्राबेकले गोल गर्दै खेललाई बराबरीमा ल्याए । यस्तै, ८५ औं मिनेटमा ओन्ड्रासेकले गोल गर्दै चेक रिपब्लिकलाई २–१ को जित दिलाए ।


यो हारसँगै इंग्ल्याण्डको छनोटमा ४३ खेलसम्मको अपराजित यात्रामा पुर्णविराम लागेको छ । युरो कप छनोटमा इंग्ल्याण्डले १० वर्ष पछि हार व्यहोरेको छ । युरो छनोट अन्तर्गत सन् २००९ को अक्टोबर १० मा युक्रेनसँग १–० ले पराजित भएको थियो ।

यस समूहको अर्को खेलमा मोन्टेनेग्रो र बुल्गेरियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

हारपछि पनि इंग्ल्याण्ड ५ खेलबाट १२ अंक जोडेर समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ । चेक ६ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । कोसोभो ८ अंकसहित तेस्रो, ३ अंक जोडेको मोन्टेनेग्रो चौथो तथा बुल्गेरिया ३ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

 


प्रकाशित मितिः शनिबार, असोज २५, ०७:१३