काठमाडौंः एक्काईसौं  सताब्दीमा प्रविधिको विकासले छलांग मारेको छ। प्रविधिको विकासले साना-बालबालिकादेखि वृद्धद्धा सबैलाई समेट्न सफल भएको छ। प्रविधिमा भएको यस विकासले सबै क्षेत्रलाई समेट्दै गएका कारण प्रविधिको प्रयोग दिन प्रतिदिन बढ्दै गएको छ। बढ्दै गरेको प्रविधिको विकासले हरेक क्षेत्रमा सकारात्मक असर पारेको छ तर यसका विभिन्न नकारात्मक तथा डरलाग्दा तथ्यहरुसमेत छन्।

प्रविधिको प्रयोगबाट दिनदिनै अपराध बढ्दै छन् भने अपराध गर्ने सैलि समेत परिवर्तन भइरहेको छ। सामाजिक संजालको दुरुपयोग, व्यक्तिगत चरित्रको हत्या, अश्लील सामग्रीको आदानप्रदान, निजी डाटाको चोरी, अपराधको योजना तथा विभिन्न अपराधिक कार्यमा समेत प्रविधिको प्रयोग बढ्दो छ।


। बालबालिका माझ समेत प्रविधि निकै प्रख्यात हुँदै गर्दा उनीहरुमा समेत यसको नकारात्मक असर पर्दै गएको छ। सानो उमेरमै बालबालिकाको पहुँच मोबाइल, ट्याब्लेट, ल्यापटप, भिडियो गेमजस्ता प्रविधि तर्फ बढ्दै गर्दा उनीहरुको ध्यान पढाइभन्दा मनोरन्जनतर्फ केन्द्रित हुँदै गरेको पाइएको छ।

एक अध्ययन अनुसार सानै उमेरमा बालबालिकाको बढ्दो प्राविधिक सामग्रीको प्रयोगले उनीहरुको दिमागमा समेत असर गरेको छ। यस्ता सामग्री चलाउने केटाकटीको दिमागको अगाडि पट्टिको भाग (फ्रोन्टल कर्टेक्स) मा कोकिन लिने मानिसको फ्रोन्टल कर्टेक्समा परेको असर सरह हुन्छ ।

विधार्थीको बढ्दो सामाजिक संजालको प्रयोगले बालविवाह, बालबालिका बेचबिखन, बालशोषण तथा बालयौन दुराचारजस्ता क्रियाकलापमा समेत वृद्धि हुँदै आएको छ। प्रविधिको गलत प्रयोग, सामाजिक संजालमा नचिनेका व्यक्तिलाई साथी बनाउँदा, अनावश्यक फोटो तथा सूचना सन्देश पोस्ट गर्दा, पार्सवर्ड साथीलाई दिँदा, गोप्य तस्वीर, सूचना समाजिक संजालमा राख्दा र अनावश्यक साइटहरु हेर्दा पछिल्लो समय धेरै बालबालिका बालयौन दुर्व्यवहारमा पर्न थालेका छन् । उपत्यकाका १० देखि १८ वर्षमुनिका ४०० बालबालिकामा गरेको सर्वेक्षणमा ७२ प्रतिशत बालबालिकाले सामाजिक संजाल प्रयोग गर्ने गरेको र त्यसमध्ये दुई तिहाईले तीनदेखि चार घण्टा सामाजिक सञ्जालमा बिताउने गरेको पाइएको थियो । उक्त सर्वेक्षणमा धेरै बालबालिकाले अन्य वेबसाइट खोजी गर्दैजाँदा अश्लील साइट हेर्ने, साथीको माध्यमबाट यस्ता साइट हेर्न गरेको पाइएको थियो ।

हालै लेखनाथ नगरपालिकामा एक अनौठो घटना भयो जहाँ एक युवकको विवाह हुनेवाला बेहुलीको उमेर नपुगेकी बहिनीसँग सुटुक्क गरियो। विवाह हुने भनिएको युवकको हुनेवाला बेहुलीकी बहिनीसँग चिनजान भयो र सामाजिक संजालमार्फत कुराकानी हुन थाल्यो। कुरा हुँदै गर्दा दुइबीच माया बढ्यो र युवकको प्रस्तावमा बेहुलीको परिवारले उनलाई उमेर नपुगेकी कान्छी छोरी सुटुक्क पठाए। उमेर नपुग्दै विवाह गरेर पठाउन लागेको जानकारी नजिकैको विद्यालयका शिक्षकले थाहा पाएपछि उमेर पुगेर विवाह गर्ने सहमतिमा उनको विवाह रोकियो।

यस्तै गत वैशाख १६ मा पर्वतको सदरमुकाम कुश्माको एक खाजा घरबाट चार तोला सुन चोरी भयो। घटनाको ३ दिन पछि प्रहरीले १९ बर्षीय २ युवकलाई दोषी ठहर गर्दै पक्राउ गर्यो। सोधपुछका क्रममा प्रहरीले सामाजिक संजालमा कोड भाषा प्रयोग गरि चोरीको योजना बनाउने गरेको पत्ता लगायो।

विज्ञहरुले बालबालिकामा देखिएका यस्ता समस्याको समाधान उनीहरुलाई प्रविधिको प्रयोगबाट निषेध गरेर मात्रै नहुने बताएका छन्। विधार्थीलाई इन्टरनेटको उचित प्रयोगबारे सचेत गर्नुका साथसाथै साइबर सुरक्षाको ज्ञान समेत प्रदान गर्नु पर्नेछ । इन्टरनेट र प्रविधिबाट हुनसक्ने जोखिमको बारेमा अभिभावक र बालबालिकामा सचेतना बृद्धिमार्फत इन्टरनेटको दुरुपयोग कमि गर्न सकिन्छ । यसै गरि अभिभावकले बालबालिकालाई समय दिनुपर्ने र उनीहरुलाई शारीरिक व्यायाम तर्फ समेत संलग्न गराउँदा प्रविधिको प्रयोगबाट हुनसक्ने जोखिमलाई न्युनिकरण गर्न सकिन्छ ।

विद्यालय साइबर सुरक्षा सम्बन्धी पाठ्यक्रम समावेश गरि बालबालिकालाई सचेत गराउँदा यसको जोखिम बुझ्नुका साथै दुरुपयोगमा कमि ल्याउन सकिन्छ । परिवर्तित समयअनुसार साधनस्रोतको प्रयोग गर्नुपर्छ तर त्यसको दुरुपयोगलाई निरुत्साहित गर्दै सिर्जनात्मक कार्यतर्फ केन्द्रित गर्न सके प्रविधिले पक्कै पनि फाइदा नै पुर्याउने छ ।