काठमाडौँ: इन्डियन प्रिमियर लिग मार्फत आफ्नो विश्वव्यापी पहिचान बनाएका सन्दीप लामिछाने आज मंगलबार नेपाल फर्किएका छन्। नेपाली समय अनुसार दिउँसो ४ बजेर १५ मिनेटमा  जेट एयरलाइन्स मार्फत सन्दिप स्वदेश फर्किएका हुन्।

दिल्ली डेयरडेभिल्सबाट आईपीएल खेलेका सन्दीपले ३ खेल खेल्दै ५ विकेट लिएका थिए। सन्दीपले डेब्यु खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर विरुद्ध खेलेका थिए जसमा उनले प्रभावकारी प्रदर्शन गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर १ विकेट लिएका थिए। त्यस्तै, चेन्नाई सुपर किंग्सविरुद्धको  दोश्रो खेलमा  सन्दीपले ४ ओभरमा मात्र २१ रन खर्चेर १ विकेट लिंदै आफ्नो छाप विश्व क्रिकेटमा छोड्न सफल भएका थिए।


अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्स विरुद्ध सन्दीपले ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका थिए । दिल्ली आईपीएलबाट बाहिरिए पछि सन्दिप मंगलबार नेपाल फर्किन लागेका हुन।

आईपीएलबाट फर्किए पछि सन्दीप विश्व ११ बाट वेष्ट इन्डिज विरुद्धको च्यारिटी खेलका लागि इङ्ल्याण्ड प्रस्थान गर्नेछन् । आईपीएलको उत्क्रिष्ट प्रदर्शनका कारण सन्दीप ३१ मेमा लण्डनको लर्ड्समा हुने वेस्ट इन्डिज र विश्व ११ बिचको खेलका लागि छनौट भएका थिए।