काठमाडौंः सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले सवारी साधनमा नम्बर प्लेट राखेबापत् सवारी धनीले सरकारलाई कुनै कर वा खर्च तिर्नुपर्ने व्यवस्था गरेको छैन ।

खैर सरकारले नागरिकलाई अत्याधुनिक सेवा उपलब्ध गराएबापत् सामान्य खर्च व्यहोर्नु नागरिकको दायित्व होला । त्यसैले सरकाले लागू गर्न लागेको इम्बोस्ड नम्बर प्लेटका लागि सर्वसाधारण पैसा तिर्न तयार देखिएका छन् ।

तर करिब २ हजार रुपैयाँ सम्ममा तयार हुने इम्बोस्ड नम्बर प्लेटका लागि सरकाले सर्वसाधारणका लागि २५ सय देखि ३६ सय रुपैयाँसम्म तोकेको छ ।

विभागले आगामी पाँच वर्षमा २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्य राखेको छ ।


। जसबाट औषतमा साढे ७ अर्ब रुपैयाँ उठ्छ ।

विभागले २५ लाख इम्बोस्ड नम्बर प्लेटका लागि करिब साढे ४ अर्ब रुपैयाँ ठेकेदार कम्पनी डेकाटुर टाइगर आइटीलाई तिर्नेछ । बाँकी ३ अर्ब रुपैयाँ सर्वसाधारणबाट उठाउनेछ । जुन पैसा सर्वसाधारणबाट कानून मिचेर ‘जबरजस्ती’ उठाइएको पैसा हो । त्यो पैसाले के गरिन्छ खुलाइएको छैन ।

यस्ताे छ शुल्क

सरकारले ल्याएको यो अत्याधुनिक र ‘हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट’ भनिएको नम्बर प्लेटका नाममा सर्वसाधारणको इमान्दारितामाथि केही व्यक्तिहरुको रजाईँ हुने अवस्थाले थप चिन्ता बढाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इम्बोस्ड नम्बर प्लेट जडानको काम सुरु गरिसकेको छ । यातायात व्यवस्था विभागले अनलाईनमार्फत् फारम भरेर नम्बर लिन सक्ने व्यवस्था गरेको छ ।

नेपालमा हाल प्रयोगमा रहेका २३ वटा नम्बर प्लेटलाई मर्ज गरेर ५ वटा नम्बर प्लेटमा इम्बोस्ड गरिएको छ । विभागले हाई सेक्युरिटी भनेर बेच्न सुरु गरेको उक्त नम्बर प्लेट विभागकै ऐनको बर्खिलाप त छ नै त्यसमाथि नम्बर संकेत अञ्चलका आधारमा गरिएको छ । र विभागले विज्ञप्तीमार्फत् भनेको छ, ‘प्लेटको माथि अञ्चल जनाउने गरी अंग्रेजीमा लेखिएको र उक्त अञ्चलपछि संघीयतामा गएपश्चात् सोहीअनुसार संघीयता जनाउने गरि लेखिनेछ ।’

विभागका अनुसार मुलुक संघीयतामा गएपछि नम्बर प्लेटको डिजाइन फरक हुनेछ । किनकी अहिले यसअघिका साधारण नम्बर प्लेटजस्तै गरी अञ्चलका आधारमा नम्बर प्लेट संकेत गरिएको छ । पछि इम्बोस्ड नम्बर प्लेटलाई सहजै संघीयता अनुसार संकेत गर्न त सकिएला तर यसका लागि सर्वसाधारणले दोहोर पैसा तिर्नुपर्ने हुन्छ । विभागले मुलुक संघीयतामा गएपछि इम्बोस्ड नम्बर प्लेट फेर्नु नपर्ने बरु एउटा स्टिकरले संघीयता संकेत गर्न सकिने उल्लेख गरेको छ ।

यस्ताे छ नम्बर प्लेटकाे साइज

इम्बोस्ड नम्बर प्लेटको प्रकृति विभागले भनेको जस्तो सहजै एउटा स्टीकरले नम्बर प्लेट फेरिने छैन । किनकी यो नम्बर प्लेट निक्कै बलियो छ । यो नम्बर प्लेट गाडीबाट निकालेर फेरि त्यसैमा राख्नसमेत नमिल्ने खालको हुन्छ ।

यसमा लेखिने अक्षरहरु विशेष प्रकारको मेसिनले प्लेटको सतहबाट माथि उठाइएको हुन्छ । र त्यसभित्र स्टिकरजस्तो देखिने गरी अन्य साना अक्षरहरु हुन्छन् । खासमा यसैलाई नै इम्बोस्ड भनिन्छ । थ्रीडी आकारमा रहेका ती अक्षरहरुमा न त स्टिकरले काम गर्न सक्छ, न त्यसलाई पुनः थिचेर फेरि अर्को नम्बर राख्न मिल्छ । यसका लागि नयाँ नम्बर प्लेट अनिवार्य हुनेछ ।

आगामी माघ ७ गतेसम्म देशमा पूर्णरुपमा संघीयता कार्यान्वयन हुनेछ । यो अबधिभित्र विभागले सबै सवारी साधनलाई अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट लिन आदेश जारी गरेको त छैन तर विभागले पसल नै सुरु गरिसकेपछि विस्तारै व्यापार त सुरु गर्नेछ नै । जसका कारण इम्बोस्ड नम्बर प्लेटको व्यापार चल्नेछ ।

विभागले सुरुमा राज्यलाई नै लुट्ने योजना बनाएको प्रष्ट देखिएको छ । सरकारी गाडीहरुमा धमाधम इम्बोस्ड नम्बर प्लेट हाल्न सुरु भएको छ । सरकारी गाडीमा हालिएका नम्बर प्लेटको पैसा सरकारले नै तिर्नेछ ।

यो पैसा सरकारी कोषबाट सरकालाई नै जाने देखिए पनि कुबेला नम्बर प्लेट जडान गर्न लागेको विभागबाट पैसा सिधै ठेकेदार कम्पनीलाई जानेछ भने यसको कमिशनमा उक्त विभागका व्यक्तिहरुको रजाईँ हुने निश्चित छ ।