काठमाडौंः पहाडी क्षेत्रका विभिन्न भेगमा चितुवा आतंक बढिरहेका बेला पाटे बाघ पनि उच्च भागतिर बसाइँ सर्न थालेका छन् । राम्रो बासस्थान, आहार प्रजातिको उपलब्धता र कोलाहल कम भएकाले बाघ उँभो चढेका हुन् ।

भुटानमा ४२ सय र भारतको उत्तराखण्डस्थित धार्चुलामा २९ सय मिटर उचाइमा भेटिएका बाघ नेपालमा पनि ८ सय मिटर उचाइसम्म उक्लिसकेका छन् । चुरे र दुन क्षेत्रका बस्तीमा यिनीहरु देखिन थालिसकेका छन् ।

जलवायु परिवर्तनका कारण आहारमा आएको फेरबदलले बाघका आहार मृग प्रजाति र बँदेल उच्च भागतिर सर्दै गएकाले बाघ पनि माथि माथि उक्लन थालेको हो । सर्वेक्षणअनुसार नेपाल र भारतमा धेरैजसो बाघ तल्लो तटीय क्षेत्रको एक सयदेखि दुई सय मिटर उचाइमा छन् ।


। पछिल्लो अध्ययनले नेपालमा २ सय ३५ र भारतमा २ हजार ९ सय ६७ बाघ देखाएको छ । दुई वर्षअघिको सर्वेक्षणमा नेपालका १२ जिल्ला बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, दाङ, बाँके, सल्यान, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुरमा बाघ भेटिएका थिए ।

डब्लूडब्लूएफ नेपालका बाघविज्ञ कञ्चन थापाका अनुसार राम्रो बासस्थान, आहार प्रजातिको उपलब्धता र कोलाहल नहुने हो भने नेपालमा पनि तल्लो क्षेत्रमा रहेका बाघ उच्च भागसम्मै जान सक्छन् । हालै भारतको तेलांगना राज्यको आदिलाबादमा रहेको टिपेश्वर वनको एउटा बाघ पोथी (प्रेमिका) को खोजीमा दुई हजार किलोमिटर यात्रा गरेर महाराष्ट्र राज्यको ज्ञानगंगा जंगलसम्म पुगेको तथ्य सार्वजनिक भएको छ । उक्त बाघ नहर, खेत, जंगल र सडक हुँदै त्यो दूरी पार गरेको स्याटेलाइट रेडियो कलरको संकेतबाट थाहा भएको छ । यसबाट बाघले धेरै यात्रा गर्न सक्ने पुष्टि भएको छ । यो समाचार आजको कान्तिपुर मा छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन ३०, ०७:४९