काठमाडौंः सरकारसँग भएको पाँचबुँदे सम्झौताप्रति उखु किसान सशंकित देखिएका छन् । चिनी उद्योगीले बक्यौता रकम भुक्तानी गर्न गरेको ढिलाइका कारण आन्दोलन गर्न काठमाडौं आएका उखु किसान र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच शुक्रबार पाँचबुँदे सहमति भएको थियो तर सो सहमतिप्रति किसान सशंकित देखिएका छन् । आन्दोलन गर्न काठमाडौं आएका उखु किसान राकेश यादवले भने, ‘यसखालका सहमति यसअघि पनि पटक पटक भएका थिए तर हालसम्म कार्यान्वयनमा नआएको कारण सम्झौताप्रति हाम्रो आशंका छ ।’

उखु किसानले दुई÷तीन वर्षदेखि नियमित आन्दोलन गर्दै आएका छन् तर कुनै न कुनै सम्झौतामा गएर त्यो टुंगिएका छन् ।


। आन्दोलनमा सहभागी भएका राकेश मिश्रले भने, ‘कहिले सीडीओसँग त कहिले उद्योगीसँग त कहिले कोसँग सम्झौता हुँदै आएका थिए तर आजसम्म कसैले सम्झौता कार्यान्वयन गरेनन् ।’

गत जेठमा १५ दिनसम्म आन्दोलन गर्दा सर्लाहीका प्रमुख जिल्ला अधिकारीको रोहबरमा चिनी उद्योगीसँग पाँचबुँदे सम्झौता भएको थियो । त्यो सम्झौता अनुसार असार मसान्त भुक्तानी गर्ने, केही रकम बाँकी रह्यो भने कात्तिक मसान्तभित्र सबै भुक्तानी गर्ने लिखित सम्झौता भएको थियो तर मंसिर बित्दा पनि भुक्तानी नभएपछि बाध्य भएर काठमाडौं आएर आन्दोलन गर्नुपरेको राकेश यादवले बताए ।

उद्योगी र सरकार पक्षले उखु किसानलाई पटक पटक ठगेका कारण बाध्य भएर काठमाडौं आएर आन्दोलन गर्नुपरेको उनले बताए । मन्त्रीको रोहबरमा उखु किसानसँग सहमति भएको यो पहिलोपटक हो, हामी केही आशावादी भएका छौं तर विश्वस्त छैनौं, राकेश यादवले भने । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रकाशित मितिः आइतबार, पुस २०, ०७:०६