सोलः उत्तर कोरियाको थुनामा रहेका ३ जना अमेरिकी नागरिक बुधबार रिहा भएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको बुधबार भएको उत्तर कोरिया भ्रमणलगत्तै ती तीन अमेरिकी छुट्नसक्ने अनुमान बमोजिम नै उनीहरु रिहा भएका हुन् ।

बिगत लामो समयदेखि उत्तर कोरिया र अमेरिकाले दुवै तर्फका नागरिकलाई आआफ्नो देशको भ्रमणमा रोक लगाउने गरेको भएपनि बर्सेनि ठूलो संख्याका अमेरिकी नागरिकले उत्तर कोरिया भ्रमण गर्ने गरेका थिए ।

उत्तर कोरियाली सरकारले जासुसको आरोप लगाएर थुनामा राखेका ती अमेरिकीलाई जेलमै राखेको थियो । पछिल्लो समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा केही सुधार आउन थालेपछि भने ती अमेरिकी छुट्ने अपेक्षा गरिएको थियो ।


राष्ट्रपति ट्रम्पद्वारा स्वागत

यसैबीच उत्तर कोरियाद्वारा रिहा गरिएका तीन अमेरिकीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन् ।

बिहीबार वासिङ्टन डिसी पुगेका उनीहरुलाई राष्ट्रपति ट्रम्पले स्वागत गरेको बताइएको छ । उनीहरुलाई वासिङ्टन विमानस्थलमै पुगेर राष्ट्रपति ट्रम्पले स्वागत गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गतहप्ता मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली जेलमा रहेका अमेरिकी नागरिकलाई तत्कालै रिहा गर्न आग्रह गरेका थिए ।