वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा हुने भनिएको शिखर बैठक उक्त समयमै नहुन पनि सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् ।

उक्त बैठक निर्धारित मितिमा हुनेमा आशङ्का व्यक्त गर्दै उनले मङ्गलबार संवाददाताहरूसँग सो प्रतिक्रिया दिएका हुन् ।

उनले उत्तर कोरियाले केही शर्तहरू पूरा गर्नुपर्ने अवस्था रहेको र नगरेमा उक्त शिखर बैठक निर्धारित समयमा नबस्न पनि सक्ने पनि बताएका हुन् ।

तर प्योङयाङले भने संयुक्त राज्य अमेरिकाले एकपक्षीय रुपमा उत्तर कोरियालाई मात्र निःशस्त्रीकरणमा जोड दिने गरेको आरोप लगाएको छ ।


। सोही कारण तथा केही दिनयता देखि दक्षिण कोरियाको राजधानी सोलमा जारी रहेको अमेरिका र सोलको संयुक्त सैन्य अभ्यासका कारण पनि वार्तामा नबस्ने चेतावनी दिएको थियो ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको अमेरिका भ्रमणमा क्रममा मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्प र इनबीच भएको भेटवार्तापछि ह्वाइट हाउसमा सम्वाददाताहरुसँग राष्ट्रपति ट्रम्पले सो प्रतिक्रिया दिएका हुन् ।

उनले भने– ‘मैले उत्तर कोरियाली नेता किमलाई गम्भीर हुनुहुन्न भन्दिन, उहाँ कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि गम्भीर नै हुनुहुन्छ । तर पनि केही शर्तहरु छन् जुन वार्ता अगावै पूरा हुनुपर्छ ।’

आगामी उक्त शिखर बैठक आयोजना हुने गरी साझा विन्दु पहिल्याउने विषयमा छलफल गर्न राष्ट्रपति इन वासिङ्टनमा छन् ।