काठमाडौँ: उत्तर कोरियाले विश्व समुदायलाई आफू परमाणु निशस्त्रीकरणको बाटोमा रहेको देखाउन परमाणु भट्टीको सुरुङ ध्वस्त बनाएको छ । उत्तर कोरियाले विभिन्न विदेशी पत्रकारहरुको उपस्थितमा बिहीबार विस्फोट गराएर परमाणु भट्टीको सुरुङ ध्वस्त गरेको हो।

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिंगापुरमा आगामी जुन १२ मा वार्ता हुनुअघि विश्वासको वातावरण बनाउन यो सुरुङ ध्वस्त बनाएको हो । उत्तर कोरियाको यो परमाणु सुरुङ पुन्गेरीमा रहेको छ। जहाँबाट उत्तर कोरियाले अमेरिकासम्म हान्न सक्ने अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले राजधानी प्योङ्याङबाट कालो शिशाले छोपिएको रेलमा राखेर करिब १२ घण्टा यात्रा गराएपछि परमाणु भट्टी भएको ठाउँमा पत्रकारहरुलाई पुर्‍याएको थियो । परमाणु भट्टी रहेको सुरुङ ध्वस्त गरिएको दृश्य विदेशी पत्रकारहरुलाई ५ सय मिटरको दुरीबाट हेर्न दिइएको थियो ।