काठमाडौंः छठ पर्वको अन्तिम दिन आज शनिबार उदाउँदो सूर्यलाई अर्घ  दिएसँगै सकिएको छ ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यअनुरुप आज उदाउँदो सूर्यलाई श्रद्धापूर्वक पूजाआजा र अर्घ दिएपछि छठ पर्व समापन भएको हो ।

अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।


पोखरीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गर्दै छठको मूख्य दिन शुक्रबार अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिइएको थियो ।

चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ दिएसँगै विविध रुपमा यो पर्व सम्पन्न भएको हो ।

कोरोना महामारीका कारण विगतको वर्षहरुमा भन्दा केही फरक ढंगले छठ मनाइएको छ । छठघाटमै गएर शिरसोप्ताको पूजा, छठी मैयाको आराधना र सूर्यको उपासना गर्ने कतिपयले यसवर्ष घरको छत र आँगनमै पर्व मनाएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न आग्रह गरेको थियो । विशेषगरी सहर बजारका धेरै ब्रतालुहरुले घरको छतमै कृत्रिम पोखरी बनाएर पूजा अर्चना गरेका छन् । नदी, खोला र पोखरीस्थित छठघाटमा ब्रतालुहरु र दर्शनार्थीहरुको भिड विगतको वर्षमा भन्दा कम देखिएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ६ शनिबार, ११:२८