काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई १६६ मतान्तरले पराजित गरेका हुन् ।

ढकालले ६३३ मत ल्याएर विजयी भएका हुन् । पराजित प्रधानलाई ४६६ मत मात्र प्राप्त भयो ।

३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५ सय २२ र किशोर प्रधानले ३ सय ७५ मत, २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ तथा ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याएका थिए ।


योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् ।

शनिबार राति नै आएको मत परिणामअनुसार महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भइसकेका छन् ।

त्यसै गरी ६० जना कार्यकारिणी सदस्य निर्वाचित भएका छन् । महासंघको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएकोमा आइतबार सबेरै नतिजा घोषणा गरिएको हो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १४ आइतबार, ०८:३३