भक्तपुरः उपचारका लागि आएकी १२ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर क्यान्सर अस्पतालको एनएक्स वार्ड शिल गरिएको छ ।

शनिबार राति अस्पतालमा मस्तिष्कसम्बन्धि रोगको शल्यक्रियाका लागि आएकी काभ्रेकी १२ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सो वार्ड शनिबार रातिबाट नै शिल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

काठमाडौंको बीर अस्पतालबाट मस्तिष्कसम्बन्धि रोगको शल्यक्रियाका लागि रेफर गरिएकी बालिकाको शल्यक्रिया पूर्व गरिएको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

उनलाई थप उपचारका लागि शनिबार राति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनले बताए ।


बालिकाको उपचारमा संलग्न अस्पतालका १२ जना नर्स, ५ जना डाक्टर, एनएक्स वार्डमा रहेका १३ जना बिरामी र १३ कुरुवा सबैलाई अस्पतालकै क्वारेन्टाइनमा राखिएको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए ।

अस्पतालको क्वारेन्टाइनमा रहेका सबैको स्वाब संकलन गरिसकेको समेत तजलेले जानकारी दिए ।

उनका अनुसार अस्पतालका अन्य सेवाहरु भने सुचारु रहेको छ ।

यसैगरी, शनिबार नै मध्यपुर थिमि नगरपालिका–९, बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए ।


प्रकाशित मितिः आइतबार, असार १४, २०७७, १२:५९