काठमाडौंः जाडो बढेसँगै उपत्यकाका अस्पतालहरुमा बिरामीको चाप बढेको छ । देशव्यापी रुरूपमा मौसममा आएको परिवर्तनले केन्द्रीय अस्पतालमा बिरामीको चाप बढेको हो ।

उपत्यकाका वीर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल लगायतमा चिसो मौसमले हुने रोगका बिरामीहरुको चाप सामान्यभन्दा २५ प्रतिशतले बढेको छ ।

उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा तापक्रम घटेपछि निमोनिया, ब्रोनकाइटिक्स, छालाको समस्या, झाडापखाला, सीओपीडी, मुटुसम्बन्धी, धुलो धुवाँको कारणले हुने एलर्जी, रुघाखोकी, बाथ लगायत रोगका बिरामीहरुको संख्या बढेको बताइएको छ ।


। वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जाडोबाट बढी असर गर्ने रोगका कारण अस्पताल आउने बिरामीको संख्या २५ प्रतिशतले बढेको जानकारी दिए ।

उनले अस्पतालमा रुघाखोकी, जाडो मौसमका कारण लाग्ने दम, निमोनिया, ब्रोनकाइटिक्स, झाडापखाला लगायतका बिरामी अस्पतालमा आउने गरेको बताए  । रुघाखोकी, निमोनिया, ब्रोनकाइटिक्स, छालाको समस्याबाट हुने बिरामीको संख्या बढेको भन्दै उनले सामान्य अवस्थाभन्दा ती रोगबाट अस्पताल आउने बिरामी २५ प्रतिशतसम्म वृद्धि भएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रकाशित मितिः मंगलबार, पुस २२, ०७:२४