काठमाडौं: उपत्यकामा संचालन हुँदै आएका माइक्रो बस र सफा टेम्पोमा नयाँ नियम लागू गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको नयाँ नियम अनुसार १८ जनाभन्दा कम सीट क्षमता भएका कुनै पनि सवारी साधनले सीट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन ।

महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीका अनुसार, माइक्रो बस र सफा टेम्पोमा यात्रु तान्न अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको र यात्रुहरुले पनि सास्ती भोग्नु परेकोले यस्तो नियम लागू गरिएको हो ।

अव यो प्रकृयालाई कडाइका साथ लागू गरिने र नियम उल्लंघन गरेको पाइएमा एक पटकमा ५ सय रुपैयाँ जरिवाना लगाउने र दोस्रो पटक पनि क्षमताभन्दा बढी यात्रु बोकेको पाइए ३ हजार रुपैयाँ जरिवाना लगाउने पनि प्रहरीले जनाएको छ ।


आज आइतबार अर्थात यो नियम लागू गरिएकै दिन उपत्यकामा विभिन्न रुटमा चल्ने १ सय ८९  वटा माइक्रो बसलाई कारबाही गरिएको जनाइएको छ ।