काठमाडौंः सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेको लकडाउनमा बन्द रहेको काठमाडौंको ट्राफिक लाईट संचालनमा ल्याएको छ ।

सरकारले गरेको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीअनुसार सवारी साधनको वृद्धि भएसँगै उपत्यकाका ट्राफिक लाईटहरुलाई सञ्चालनमा ल्याएको महानगरीय ट्राफिक प्रहरी महाशाखा जनाएको छ ।

पद्मोदय–१, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयाँ ठिमी चोक, सिंहदरबार, गौशालाका स्थानका ट्राफिक लाईट सञ्चालनमा आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले जानकारी दिए ।
पुतलीसडक, पद्मोदय–२, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल (ललितपुर) का ट्राफिक लाईट अब सञ्चालनमा आउनेछन् ।


महाशाखाका अनुसार अन्य स्थानहरुमा पनि ट्राफिक लाईट सुररु गर्न पहल भईरहेको छ ।

ट्राफिक लाईट सञ्चालन आएका स्थानहरुका ट्राफिक लाईटको पूर्ण पालना गरिदिनु सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरुलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ ।

साथै सवारी चालक तथा सडक प्रयोगकर्ताहरुले ट्राफिक नियम पालना नगरेमा दुर्घटना बढ्न जाने हुँदा सम्बन्धित सम्पूर्ण चालक तथा पैदलयात्रीहरुले सबै किसिमका ट्राफिक नियमहरुलाई पूर्ण रुपमा पालना गर्न महाशाखाले सबैलाई अनुरोध पनि गरेको छ ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका १८ स्थानका ट्राफिक लाईट महाशाखाको पहलमा सञ्चालनमा ल्याइएको थियो ।


प्रकाशित मितिः आइतबार, असार ७, २०७७, १९:२९