काठमाडौं: नेपाल विधुत् प्राधिकरणले काठमाडौं उपत्यकामा रहेका विधुत् उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित सम्पूर्ण सहायक कार्यालयहरुलाई उपत्यकाबाट एक महिना भित्र हटाउन निर्देशन जारी गरेको छ । काठमाडौंमा भएका कार्यालयले लक्ष्य अनुसारको काम गर्न बाधा पुर्याएको भन्दै विधुत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले ती कार्यालयहरुलाई तत्काल सार्न कडा निर्देशन दिएको छ ।

काठमाडौं उपत्यकामा कार्यालय हुँदा आयोजनाको लागत तथा समय बढेको भन्दै ऊर्जा मन्त्री पुनले प्राधिकरणलाई उक्त निर्देशन दिएपछि प्राधिकरणले सूचना प्रकाशन गरी प्राधिकरण अन्तर्गतका सम्पूर्ण सहायक कम्पनीलाई आयोजना भएको स्थानमा कार्यालय सार्न निर्देशन दिएको हो ।


अधिकाशं आयोजनाका प्रमुख तथा प्राविधिक कर्मचारी समेत आयोजना स्थलमा नगई समस्या बढाउने काम  गरेपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको निर्देशनमा सबै आयोजनाका प्रमुख तथा प्राविधिक कर्मचारीलाई कस्ने नीतिका साथ काठमाडौंका कार्यालय १ महिना भित्र बन्द गर्न निर्देशन दिइएको हो ।

कर्मचारीले काठमाण्डौंमा नै बसेर आयोजना गएको भत्ता तथा अन्य सेवा सुविधा लिएकाले यसले आयोजनाको दुवै लागत र समयमा असर परेको भन्दै उक्त निर्देशन जारी गरेको हो ।

प्राधिकरणले अब विधुत् सँग सम्बन्धित सम्पूर्ण कार्यालयहरु उपत्यकाबाट हट्नेमा विश्वस्त भएको जनाएको छ । निर्देशित काम नगरे सम्बन्धित कार्यालय तथा आयोजना प्रमुखलाई नियमअनुसार कारबाही हुने प्राधिकरणले जनाएको छ । आयोजनालाई गति दिने भन्दा पनि लागत र समय बढाउने गरेको विषयमा महालेखाले समेत आपत्ति जनाएपछि प्राधिकरणले कडा नीति अख्तियारी गरेको हो ।