भक्तपुरः राष्ट्रिय स्वाधीनता, सह–अस्तित्व तथा सुशासनका लागि काठमाडौं उपत्यकाव्यापी नागरिक साँस्कृतिक शान्ति पदयात्रा सुरु गरेको छ ।

असार ५ गते मध्यपुर थिमिको नगदेशबाट सुरु गरेको नागरिक आवाज अभियान असार १० गते सम्म निरन्तर उपत्यकाको तीन वटै जिल्लाका बिभिन्न साँस्कृतिक नगर तथा गाउँहरुमा पदयात्रा गर्ने नागरिक आवाज अभियानले जनाएको छ ।

पदयात्रा शुक्रबार मध्यपुरको नगदेशबाट सुरु गरी साँखु पुगेर चाँगुनारायणमा बास बसी आज शनिबार भक्तपुरमा आई पुगेको छ भने आज पाटनको लुभु हुँदै सुनाकोठी बास बस्ने नागरिक आवाज समितिले जनाएको छ ।

‘असार १२ गते दिउँसो १ बजे बसन्तपुर जाऔं, राष्ट्रघाती एमसीसी खोरज अभियानमा सहभागी बनौं’ भने नाराका साथ शुक्रबारबाट सुरु गरेको एमसीसी खारेजको नागरिक अभियानमा उपत्यकाको तीनवटै जिल्लाको बिभिन्न साँस्कृतिक नगर तथा गाउँहरुका स्थानीय जनतालाई जागरुक गराउन पदयात्रा अभियान चलाएको अभियानका संयोजक सुमन सायमीले बताए ।


उनका अनुसार यो अभियान हामी नागरिकहरु नै आफू सार्वभौमसत्ता सम्पन्न देशको वास्तविक मालिक भएको तथ्यलाई स्मरण गर्दै र सरकारलाई आम नागरिकको हित रक्षार्थ छनौट गरिएको कामदार समुह मात्र हो भने कुरा सचेत गराउँदै कुनै पनि जाति, धर्म, वर्ण, समुदाय तथा राजनीतिक दलसमेतलाई आग्रह पूर्वाग्रह नराखी देश र जनताले भोग्नु परिरहेको विषम् परिस्थितिका सवालमा सबैले एक नागरिकको हैसियतमा आफ्नो ठाउँबाट आवाज उठाउन अपिल गरेको छ ।

पदयात्रामा ‘नेपालको वर्तमान परिस्थितिमा आम नेपाली नागरिकले उठाएका नागरिक आवाजहरु एमसीसी हामी लिदैनौ अमेरिकी गुलाम बन्दैनौं’, ‘आत्मनिर्भरताको विकास गर हाम्रो उत्पादनशील भूमिको संरक्षण गर’, ‘, ‘सम्पदाको संरक्षण गर, सह–अस्तित्वको सम्मान गर, गुठी स्वायत्तता स्थापित गर’, ‘सभ्यता माथिको आक्रमण बन्द गर’, ‘जन उत्तरदायित्व बहन गर’, ‘सबै भ्रष्टाचारीहरुलाई कारवाही गर’, ‘राष्ट्रिय स्वाधीनताको रक्षा गर’, नागरिक आवाजको सुनुवाई गर’ नारा लेखिएका प्लेकार्डहरु बोकेर हिडेका छन् ।

नेपाली नागरिकले नचाहेको एमसीसीलाई जवर्जस्ती लागु गर्न खोजिरहेको, उपत्यकाका नेवाः गुठीको मर्म विपरीत गुठी विधेयक सुझाव समिति गठन गरेको, उपत्यकाको कृषि भूमि समाप्त पार्ने प्रपञ्चसहित स्मार्ट सिटी बनाउने साथै सुकुम्बासीलाई समेत यहाँको भुमि वितरण गर्ने उद्देश्यसहित भुमि ऐन बनाई भुमि आयोग समेत गठन गरेको छ । जुन विषयहरु यहाँका आम नागरिकको हितमा नभएको नागरिक आवाज अभियानको रहेको छ ।


प्रकाशित मितिः शनिबार, असार ६, २०७७, २१:४२