भक्तपुरः काठमाडौं, ललितपुर र भक्तपुरमा उपलब्ध मेयर तथा उपमेयरहरुको फोरमले उपत्यका विकास प्राधिकरणको खारेजी माग दोहोर्‍याएको छ ।

भक्तपुरमा पत्रकार सम्मेलन गरि उनीहरुले स्थानीय स्वायत्त शासन नियमावली, २०५६ सँग बाझिएकोले प्राधिकरण खारेज गर्नुपर्ने दोहोर्‍याएका हुन् ।

अठार वटा नगरपालिकाका मेयर र उपमेयर सहभागी रहेको बैठक पश्चात् आयोजित पत्रकार सम्मेलनमा ६ बुँदे निर्णय सार्वजनिक गरिएको छ ।

निर्णय ५ को बुँदामा पत्रकारको जिज्ञासा मेटाउने क्रममा उपत्यका नगरपालिका फोरम काठमाडौंका सचिव तथा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले विकास प्राधिकरण ऐनको औंचित्य नरहेको बताए ।


हुन पनि स्थानीय स्वायत्त शासन ऐनको परिच्छेद ३ अनुसार नगर परिषद्को काम, कर्तब्य, अधिकार र समितिले स्थानीय क्षेत्रको पूर्वाधार र संरचना विकास समिति बनाउन सक्छ । ऐनको दफा ९४ को उपदफा (३) को प्रयोजनको लागि नगर परिषद्ले कुनै एक सदस्यको अध्यक्षतामा तीन सदस्यीय विषयगत समिति समेत बनाउन सक्ने भएर श्रेष्ठले प्राधिकरणको औचित्य नरहेको दाबी गरेका हुन् ।

फोरमका मेयर तथा उपमेयरहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने, अक्टोबर २० र २१ मा अन्तर्राष्ट्रिय मेयर सम्मेलनको आयोजना गर्ने, फोहरमैला व्यवस्थापन, साइकल लेन बनाउनेदेखि स्थानीय सरकार, प्रदेश र संघीय सरकारबीचको समन्वयमा विकास निर्माणका कामलाई तीव्र बनाउने निर्णय गरेका छन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, मध्यपुर थिमि नगरपालिकाका मेयर श्रेष्ठलगायतका मेयर तथा उपमेयरहरुको सहभागिता थियो ।

 


प्रकाशित मितिः मंगलबार, मंसिर २४, ०६:२६