भक्तपुरः काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञाको आज दोस्रो दिन उपत्यका प्रवेश गर्ने पूर्वी नाका साँगामा कडाई गरिएको छ ।

उपत्यकामा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेका अवस्थामा संक्रमण रोकथाम र न्यूनीकरणका लागि प्रशासनले काठमाडौँ उपत्यका प्रवेश गर्ने पूर्व नाका साँगामा कडाइ गरेको हो ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई पूर्वी नाका साँगामा चेकजाँचमा कडाई गरी पठाइएको बताए ।

अरनिको राजमार्ग हुँदै काठमाडौँ प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा उपत्यका प्रवेश गर्न खोज्ने सवारी साधन बिहानैदेखि प्रहरीले जाँच गर्दै पास नभएका सवारी साधनलाई नाकाबाटै फर्काइएको छ ।


पूर्वी नाकाबाट अत्यावश्यक सवारी साधन, बैंक तथा वित्तिय संस्थाका कर्मचारीका सवारी साधनका साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको अनुमति पत्र भएका सवारी साधनलाई मात्र प्रहरी उपत्यका प्रवेश गर्ने दिएको छ । यस्तै बिवाह र जन्तीका गाडीहरु समेतलाई उपत्यकामा प्रवेश दिएको छ ।

यसैगरी, उपत्यका बाहिरिने सवारी साधनहरु पनि चेकजाँच गरी पठाइएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १७ गते शुक्रबार, १२:१४