काठमाडौं: ऊर्जा सिंचाई तथा जलस्रोत मन्त्री बर्षमान पुन र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा भेटवार्ता भएको छ। बिहीबार भएको भेटर्वार्तामा दुई देशको हित र चासोका विषयमा छलफल भएको छ।

मन्त्री पुनसँगको भेटमा अमेरिकी राजदूतले ऊर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न अमेरिका इच्छुक रहेको बताएकी छिन्।  मन्त्री पुन र राजदूत टेप्लिजबीचको भेटमा अमेरिकाले एमसीसी नेपाल कमप्याक्टमार्फत नेपालको विकास र ऊर्जा क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको हो। भेटमा एमसीसी एसिया मामिला हेर्ने डेपुटी भाइस चेयरम्यान जोनाथन ब्रुक्स समेत सहभागी थिए।


मन्त्री पुनले अमेरिकाको सहयोगमा संचालित एमसीसीसँग सम्बन्धित कार्यक्रम समयभित्र पुरा गर्ने तयारी ऊर्जामन्त्रालयले गरेको बताए। उनले त्यसका लागि सरकारको तर्फबाट कुनै समस्या नपर्ने धारणा समेत व्यक्त गरेका छन्।

एमसीसीलाई नमुना परियोजनाको रुपमा विकास गरेर अघि बढाउने सरकारको तयारी रहेको छ। नेपालमा राजनीतिक संक्रमणको चरण पार भइसकेको भन्दै मन्त्री पुनले अमेरिकी लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि आग्रह गरे।

मन्त्री पुनले एमसीसी परियोजना सुरु भएको पाँच वर्षभित्र निर्माण सक्नुपर्ने प्रावधानबारे आफू जानकार रहेको भन्दै पूर्व तयारीको काम पनि समयभित्र पुरा गर्न मन्त्रालयको तर्फबाट कुनै समस्या नहुने बताए। एमसिसी एसिया मामिला डेपुटी भाइस चेयरम्यान  ब्रुक्सले एमसीसी वैदेशिक लगानीको सूचकका रुपमा भएको बताए। उनले यसलाई संसदबाट अनुमोदन गर्न सके त्यसले परियोजना कार्यान्वयनमा सजिलो हुने धारणा समेत राखेका थिए।

एमसिसी नेपाल कमप्याक्ट परियोजन अन्तर्गत अमेरिकाले नेपालको ऊर्जा र सडक निर्माणमा ५० अर्ब बराबरको रकम खर्च गर्ने यसअघि नै घोषणा गरिसकेको छ। एमसीसी कम्याक्ट अन्तर्गत अमेरिकाले प्रशारण लाइन निर्माणमा सहयोग गर्ने समझदारी भइसकेको छ। एमसीसी अन्तर्गत रातोमाटे-दमौली,दमौली-वुटवल,वुटवल-हेटौडा र रातोमाटेदेखी लप्सीफेदीसम्म ४ सय केबीको प्रशारण लाइन निर्माण हुनेछ। त्यसैगरी बुटवलदेखी सुनौलीसम्म अन्तरदेशीय प्रशारण लाइन समेत निर्माण गर्ने समझदारी भइसकेको छ।