काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयले आगामी दशकमा १५ हजार मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न ‘टेक अर पे’ पिपिए खुलाउने भएको छ । मन्त्रालयले स्वेतपत्रमार्फत निर्धारण गरेको लक्ष्य पूरा गर्न प्राधिकरणले यस प्रक्रिया अघि बढाएको हो ।

नेपाल विद्युत प्राधिकरणले सरकारको लक्ष्य अनुसार १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्न ‘टेक अर पे’ प्रावधानको विद्युत खरिद सम्झौता (पिपिए) खुलाउने तयारी गरेको  छ । ‘टेक अर पे’ पिपिए खुलेपछि पिपिए गर्न लाइनमा बसेका दर्जनौं आयोजनाले राहत पाउने छन् । ‘आगामी दशक ऊर्जा दशक’ नारा दिएर ल्याइएको स्वयतपत्रको लक्ष्य कार्यान्वयन गर्न ३०-३५ प्रतिशत जलाशय, २५-३० अर्धजलाशय, ३०- ३५ प्रतिशत नदी प्रवाही र ५-१० प्रतिशत वैकल्पिक  स्रोतबाट विद्युत उत्पादन हुने विद्युतको पिपिए खुलाउन लागिएको हो ।


सरकारले आगामी दशकको अवधिमा १५ हजार विद्युत उत्पादनगर्ने र उत्पादन भएको १० हजार मेगावाट आन्तरिक खपत गर्ने तथा  ५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ ।

प्राधिकरणले अहिलेसम्म करिब ३ हजार ६ सय मेगावाट नदी प्रवाही आयोजनाको पिपिए गरिसकेको छ । यसअघि १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने ‘बेन्चमार्क (सीमा)’ भित्र रहेर पिपिए हुँदै आएको थियो । उक्त ‘बेन्चमार्क’ भित्र नदी प्रवाही आयोजनाको पिपिएको कोटा पुगेको भन्दै प्राधिकरणले टेक अर पे प्रावधान बन्द गरेको थियो । अब १५ हजार मेगावाटभित्र ३० देखि ३५ प्रतिशत नदी प्रवाही गणना गर्दा ४ हजार ५ सय देखि ५ हजार २ सय ५० मेगावाट हुन्छ । अब प्राधिकरणले यो सीमासम्म टेक अर पे पिपिए गर्नेछ ।