काठमाडौंः तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नवगठित नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै पुरानो नेकपाका अध्यक्ष ऋषि कट्टेलले विज्ञप्ति जारी गरेका छन् ।

गत वैशाख ३ गते बिहीबार एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी बनेपछि ऋषि कट्टेलले विरोध गर्दै विज्ञप्ति जारी गरेका हुन् ।

उनले आफु नेतृत्वको नेकपा संविधानसभाको दोस्रो चुनावदेखि निर्वाचन आयोगमा विधिवत् दर्ता भई निर्वाचन चिन्ह्रको रुपमा आयोगले घन–कोदालो समेत प्रदान गरेका कारण नवगठित नेकपाले गरेको यस्तो कार्यप्रति आपत्ति जनाएका छन्।


विज्ञप्तिमा भनिएको छ, नेपालको ऐन कानून र संविधान अनुरुप दलको नाम र चिन्ह्र एक हुन सक्दैन भन्ने स्पष्ट तोकिएको छ त्यसैले अर्को नेपाल कम्युनिष्ट पार्टी दर्ता हुन सक्दैन । ऐनलाई छलेर पार्टीको नाममुनि धर्सो तानेर निवेदन दर्ता गराएको कुरा बाहिर आएको छ, सत्य तथ्य के हो निर्वाचन आयोगले जानकारी गराउने अपेक्षा गर्दछौं ।

कानूनी ब्यवस्था प्रष्ट हुदाहुँदै पनि सरकारमा रहेका दलहरुले नै यस्तो गैरकानूनी काम गर्नाले नेपालको संविधान, कानून र सिङ्गो व्यवस्थालाई नाङ्गो पारेको छ र सत्तासिन दलहरुको अधिनायकवादी चरित्रको पर्दाफास भएको विज्ञप्तिमा उल्लेख छ ।