काठमाडौंः पार्टी एकता घोषणा प्रक्रियालाई अन्तिम रुप दिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । जारी बैठकले पार्टी एकताको सहमतिलाई औपचारिक रुपमा अनुमोदन गर्नेछ।

पार्टी एकता गर्नुपूर्व संयुक्त विधान, राजनीतिक दस्तावेज र केन्द्रीय कमिटी निर्धारण गरी निर्वाचन आयोगमा दर्ता गर्ने र पत्रकार सम्मेलनमार्फत एकता घोषणा गर्ने विषयमा बैठक केन्द्रित रहेको बुझिएको छ ।

एकता संयोजन समितिले एकताको सहमतिलाई औपचारिक रुपमा अनुमोदन गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै दल औपचारिक रुपमा विघटन हुनेछन्।


। दुई दलबीच एकीकरणपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति भइसकेको छ।

एकता संयोजन समितिको बैठकपछि दुवै दलको आ–आफ्नै दलको बैठक बस्नेछ। त्यसपछि दुई दलको संयुक्त बैठक बस्ने तय भएको छ। आजै दुई दलबीच एकताको औपचारिक घोषणा गरिने छ र आजै निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिने छ।

दुई दलबीच पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद लेलिनवाद रहने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्साइसौं शताब्दीको जनवादलाई विधिवत रुपमा बहसमा लैजाने विषयमा सहमति भइसकेको छ।

यसैगरी एकीकृत पार्टीको स्थायी समिति ४३ सदस्यीय हुने सहमति भइसकेको छ। जसमा एमालेकातर्फबाट २५ र माओवादी केन्द्रकातर्फबाट १८ जना रहने छन्। यसैगरी ४४१ सदस्यीय रहने केन्द्रीय समितिमा एमालेबाट २४१ र माओवादी केन्द्रबाट २ सय रहने र पार्टीको चुनाव चिन्ह भने सूर्य नै रहने सहमति भइसकेको छ।

यसैबीच प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकअघि बालुवाटारमा संयुक्त वृक्षरोपण गरेका थिए ।

पार्टी एकता दिगो र चिरस्थायी होस् भन्ने कामना र सन्देशका लागि जापानबाट ल्याइएको ऐतिहासिक बिरुवा जिन्को वाइलोवा तथा नेपालमा पाइने आँप, समी, कपुर, अम्बा र एबोगाडो बिरुवा रोपिएको थियो ।

जिन्को वाइलोवा एटमबम प्रहारबाट पनि केही असर नपरेको बिरुवा मानिन्छ ।

एकता संयोजन समितिको बैठक सम्पन्न भएपछि बस्ने एमाले केन्द्रीय कमिटीको आकष्मिक बैठकका लागि बालुवाटारमा नेताहरु आउने क्रम जारी छ ।